म्याच फिक्सिङ (कविता)

by Krishna Gurung on Thursday, October 27, 2011 at 8:26pm ·
खराब बलमा खराब ब्याटिङ
पेभेलियन फर्केको छु त्यसैले
शतक मार्नुअघि
एउटा छक्का प्रहारमा क्याचआउट !
सारा दर्शकहरुको छातीमा भक्कानो छुटाएर
टाउकोबाट हेलमेट ओरालेर
प्रशस्त बलहरु बाँकी छँदै
पहिलो पावर प्लेको अन्तिम ओभरमा
पिचलाई सलामी चढाएर विदा भएको छु
. ..................................
...................................

हेर्दाहेर्दैका आँखाहरु छकिएका छन्
कसरी बढ्यो बाउण्डरी लाइनको सर्कम्फरेन्स !
सुन्नेहरुलाई समेत विश्वास छैन
कसरी भयो मास्टर ब्लास्टरको विकेट पतन !
अम्पायर !
पट्टी बाँधिएको त थिएन तिम्रो आँखामा
भाइरस छिरेको त थिएन तिम्रो स्नायुमा
तिमीले मलाई आउट करार दिएको घोषणामा
दर्शकहरुको समेत चित्त बुझेको छैन
वाइड वलमै तिमीले चुकायौ अरे
सम्भावित एउटा ‘म्यान अफ दि म्याच’लाई
थर्ड अम्पायरलाई पनि नसोधी
..........................................
..........................................
अम्पायर !
तिम्रो निर्णयमा डिस्कस गर्न मन लागेको छ मलाई
विज्ञानलाई कलंक लगाउने तिम्रो मनोविज्ञानलाई
धिक्कार्न मन लागेको छ
तिमीले मलाई होइन
मेरो देशलाई हराएका छौ
मेरो शीर होइन, सगरमाथाको शीर झुकाएका छौ
समस्त विश्वलार्य पाठ पढाउने
एउटा बुद्धलाई पेभेलियन फर्काएका छौ
मलाई रन बटुल्नबाट वञ्चित गरेर
मेरो जाति र सभ्यतालाई हारको संघारमा पुर्याएका छौ
हो,
मेरो ब्याटलाई थन्क्याउन लगाएर
परचक्रीलाई सिट्टी बजाउने अवसर दिएका छौ
 ..............................................
 ..............................................
कानेखुसी गर्दैछन् प्रश्नहरु अहिले स्टेडियममा
मेरो ब्याटिङ क्षमतामाथि शंका उत्पन्न भएको छ सडकमा
दोषहरु थोपरिएका छन् ममाथि
यद्यपि मलाई थाहा छ
म्याच फिक्सिङ तिमीले गरेका थियौ अम्पायर !
तिमीले स्वीकार नगरेपनि
तिमीले पश्चात्ताप नगरेपनि
इतिहास साक्षी छ अम्पायर म्याच फिक्सिङ
तिमीले नै गरेका थियौ ।
 .............................................
...............................................
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment