फेसबुकका गजलहरु

Krishna Gurung

गजल


भन्ने गर्छु साथीभाइलाई कहींकतै झुक्नुहुन्न
आफू पनि स्वार्थी बनी दुनियाँमा चुक्नुहुन्न

समानताको भाषणमात्र छाँटी यहाँ के नै हुन्छ
गर्नेबेला जुट्नैपर्छ अर्काको भर परी लुक्नुहुन्न

पसिनाकै किमत हुन् गाउँ होस् या सहर नै
आफ्नै पौरख खानुपर्छ अरुकोमा ढुक्नुहुन्न

रिझाएर राख्नुपर्छ न कि बिझाएर आफ्नालाई
सोझो सिधा देख्दा कहिल्यै कुकुरसरि भुक्नुहुन्न

बाँच अनि बचाऔंको नारा जस्तै जीवन होस्
जति आँसु झरेपनि सिर्जनाको मूल सुक्नुहुन्न

गजल

by Krishna Gurung on Monday, February 13, 2012 at 3:29pm ·

के गरुँ त पानी पिउँदा शराब देखे कसैले
झनै माया छरिदिन्छु खराब देखे कसैले


कति जाँच गर्छौ तर अग्निकुण्डभित्रै हाली
अझै बढी लगाइदिन्छु नकाव देखे कसैले


इनामको लागि होइन इमानको लागि जित्छु
अझै बढी लडिदिन्छु रवाफ देखे कसैले


सहिदिंदा चुपचाप अपमानका बज्रवाणहरु
अझै मौन बसिदिन्छु जवाफ देखे कसैले


के गरुँ त पानी पिउँदा शराब देखे कसैले
झनै माया छरिदिन्छु खराब देखे कसैले

गजल

by Krishna Gurung on Monday, February 13, 2012 at 12:38pm ·
यस्तो उसको बस्ती कि खुल्ला घाम नभएको सहरमा
अनि किन निद्रा पर्थ्यो चक्काजाम नभएको सहरमा

नेप्से सूचक घट्दा सिटी स्क्यान, इसिजि नै गर्नुपर्ने
रित्तो धारा, सिलिण्डरको लाम नभएको सहरमा

ब्रेन ड्रेन किन रोकोस् बरु भाइरस छिरोस् नयाँ नयाँ
नो पार्किङ, नो नेटवर्क मुन्नी बदनाम नभएको सहरमा

डलरको ड्रीमसँगै सेल्फ सेक्युरिटीको लागि सरेण्डर पनि
हर्ट अटेक बढ्छ डेली कतै घुमघाम नभएको सहरमा

ऊ नै हो नयाँ अवतार तालुकदार, मुखिया र सामन्तको
किन बास गर्छ उस्ले प्रपन्च र छलछाम नभएको सहरमा

गजल

by Krishna Gurung on Monday, February 13, 2012 at 5:59am ·
म पनि त रित्तो सिलिण्डर हुँ तर किन मेरो भाउ बढ्दैन यहाँ
मिटर ट्याक्सी बनाउँदा पनि दिल मेरो बिल चढ्दैन यहाँ

गजब लाग्छ प्रेम किन्न नसकेर उधारो सास फेरेको बेला
ठेक्कामै दिन्थेँ नि तर किन मेरो जिन्दगीको टेण्डर खुल्दैन यहाँ

अरुको त हाँसो पनि सिआरबिटी खोकी पनि पिआरबिटी
आफ्नो जिन्दगीको नायकै हुँ तर किन मेरो फिल्म चल्दैन यहाँ

बेरोजगार भन्दा पत्याउँदैनन् कामै खोज्ने काम भाछ
कसैको त तालुमा आलु फल्छ अरे तर किन मेरो रुख फल्दैन यहाँ

कि मैले पनि रातो पासपोर्ट बेच्ने सभासद बन्नुपर्यो, डिआइजी हुनुपर्यो
नत्र किन मेरो त्याग समाचारको हेडलाइन बन्दैन यहाँ

गीत [पुरानो एउटा नोटको पानाबाट साभार]

by Krishna Gurung on Thursday, January 5, 2012 at 11:13am ·
हजार भ्रम छरेपछि एउटै सत्य लुकिदिन्छ
बाहिर काँडा फुलेपछि भित्र मुटु दुखिदिन्छ

बरु जाती हन्थ्यो होला नदेखेको भएपनि
कुनै कथा बन्दैनथ्यो नलेखेको भएपनि

पहरो त छोपिएछ लहरोमै अल्झिरहें
नयाँ नयाँ दिनमा पनि पुरानै घाउ बल्झिरहे

आफ्नाहरु पन्छिदिंदा पराइ हाँस्ने मेला भयो
सबैलाई समान ठान्दा दुनियाँको हेला भयो

दिन फिर्ला भन्दै कुरें युग बित्यो यसैगरी
ढुंगे मन हुनेहरु बदलिएनन् कसैगरी
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment