फेसबुकका कथाहरु

आ–आफ्नो रिवाज सामाजिक कथा (२०६० भाद्र २९ मा रचित) पुरा भाग

by Krishna Gurung on Tuesday, December 13, 2011 at 9:06pm ·

मंसिर महिनाको एकसाँझ पूर्णाले सुनी, मामाको छोरो प्रकाश लाहुरबाट आएको छ रे ! खुसीले आल्हादित हुँदै यो शुभसमाचार आफ्ना पितामातासमक्ष जाहेर गर्न तत्काल घरतिर लागिन् । आफ्ना प्यारा भदै लाहुरबाट फर्केको खबर जसै तिनीहरुको कर्णविवरमा ध्वनित भएथ्यो, ती बूढाबूढीको हर्षको सीमा नै रहेन । तिनीहरु यति खुसी थिए, प्रत्यक्षदर्शीहरुले कस्ता उत्ताउला बूढाबूढीहरु भन्नसमेत बाँकी राखेनन् । आफ्ना पितामाताको मुहारमा एकाएक छाएको यो रौनकता देखेर पूर्णा अचम्मित थिई । तिनी यसको भेउ पाउन चाहन्थी तर कामको व्यस्तताले यो प्रश्न मनसपटलबाटै बिलाएर गयो ।
आफ्ना आफन्तको आगमनमा खुसीयाली नमनाउने मान्फ्ना आफन्तको आगमनमा खुसीयाली नमनाउने मान्छे यो धर्तीमा को होला र ? करिव दुई बर्षसम्म आँखाबाट ओझेल परेको त्यो व्यक्ति जो साइनोले सोल्टी (गुरुङ जातिमा भेना) पथ्र्यो, कस्तो भयो होला भन्ने असीम उत्कण्ठाले पूर्णालाई अधीर बनाइरह्यो । आखिर त्यो दिन पनि धेरै पर रहेन । ओठमा लाली दलेर एउटा प्रभात मुस्कुराइरहेको मु्हूर्तमा प्रकाश एक्कासि झुल्कियो । पूर्णा दगुरेर आई र हात मिलाउँदै भनी – तिमी आयौ प्रकाश ? तिमी त कस्तो नचिनिने भएछौ ।
अनि कुशल मंगल र घर व्यवहारका विषयमा भलाकुसारी हुन थाले । प्रकाशले लाहुरे जीवनका कथाव्यथाहरु बडो कौतुहलतापूर्वक ढंगले व्यक्त गर्यो । पूर्णाले आफ्नो वी.ए.पढाइको यात्राका आरोह–अवरोहका बारेमा चर्चा गरी अनि बाबुआमाले दुःखसुखका कुरा गरे । प्रकाश आएको खुसीमा त्यो दिन कुखुराको भाले काटियो । सबैले मीठो मानी मानी खाए । दिउँसो बाबुआमा बाहिर काममा गएको मौकामा प्रकाशले प्याकेटबाट चुरोट झिक्दै भन्यो, ‘ङ्योल्सो पूर्णा सिगरेट लिन्छौ ?’ । पूर्णाले आफूले कहिल्यै धूम्रपान गर्ने नगरेको कुरा बताई । प्रकाशले ढिपी गर्यो तर पूर्णाले पनि चुरोट नपिउने ढिपी गरिन् । ‘ठीक छ पूर्णा तिमीले चुरोट नखाने ढिपी गरेपनि एउटा कुरामा पक्कै ढिपी गर्नेछैनौ । पूर्णालाई जिज्ञासा लाग्यो र प्रश्न गरिन् – कस्तो कुरा हो प्रकाश ?
‘म तिमीसँग विवाह गर्न चाहन्छु पूर्णा ! भन तिमीलाई मञ्जुर छ कि छैन ? चुरोटको धुँवा छाड्दै प्रकाशले सोध्यो । पूर्णा करेन्ट लागेजस्तो गरेर झस्की । एकछिन ट्वाल्ल परेर भनी, ‘तिमी बौल्हायौ प्रकाश ? मैले त यस्तो कुरा सपनामा पनि चिताएको थिइन ।’
‘तिमीले नचिताएपनि तिमीमाथि मेरो पूरा हक छ पूर्णा । मामाकी छोरी रोजी, फुपूकी छोरी खोजी भन्ने त हाम्रो गुरुङ समाजमा प्रचलित संस्कार नै हो । फेरि हामीलाई हुर्केपछि विवाह गर्ने भनेर आमाबाले सानैमा रिपू बाँधी दिएको तिमीले बिस्र्यौ ?’ प्रकाशको मुहारमा गर्वको मुस्कान सल्बलाएको देखियो । ‘तर हामीले यो परम्परा तोड्नुपर्छ । के मलाई आफ्नो जीवनसाथी आफैंले रोज्ने हक छैन ?’ पूर्णा रिसले चुरचुर भई । ‘हकको कुरा नगर पूर्णा यो हाम्रो रिवाज हो’ ‘धिक्कार छ यस्तो रिवाजलाई’ पूर्णा रुन लागिन् ।
‘तिमीले धिक्कारेर केही हुँदैन पूर्णा । यो रोजाइ तिम्रा आमाबा र मेरा आमाबा दुवैतिरको पनि रोजाइ हो । तिमी अहिले बसिराख कुनै रात तिम्रो मगनीको लागि पुङभरि रक्सी, पेरुङ्गोमा कुखुराको सपेटा अनि सोलीभरि सगुन बोकेर आउनेछु ।’ यति भनेर प्रकाश त्यहाँबाट हिँड्यो ।
मुटुमा ढ्याङ्ग्रो बजाएर प्रकाश त त्यहाँबाट ओझेल पर्यो नै । प्रकाशले अकस्मात् यस्तो कुरा गर्ला भनेर पूर्णाले कल्पनासमेत गरेकी थिइनन् । के सोचेकी थिई, के भयो अहिले । विचलित बनिन् पूर्णा । चीसो सुस्केरा लिएर कोठाभित्र पसी । अब के गर्ने ? हजारबार यही प्रश्नले मुटु चिमोटीरह्यो । अरु कुरा त विचार गर्न सकिन्थ्यो तर पढाइको मामलामा तिनले वी.ए. पास गरिसकेकी थिई भने प्रकाश त आठ कक्षामात्रै उत्तीर्ण गरेको लाहुरे थियो । अब कसरी स्वीकार गर्ने ? आखिर एउटा निर्णय त गर्नु नै थियो । अनि एकाएक समस्याको समाधान पाएझैैं खुसी जस्ती देखिइन् ।
कल्पनाको लहरमा उही नवजवान उभियो पूर्णाको स्मृतिपटलमा, जोसँग तिनको आत्मीय सम्बन्ध थियो । प्रेम भनेर घोषणा नगरेकै भए पनि तिनी रमेशलाई खुब मन पराउँथिन् । यस्तो छनक सायद रमेशलाई पनि थियो र कतिपय ठट्टा गर्न भ्याएको थियो । आखिर त्यो स्वाभाविक आकर्षणलाई पूर्णाले प्रेमकै प्रतीक मानेर कता कता आशाको त्यान्द्रोमा झुण्डिइरहेकी थिई । तर कुरै कुरामा एमए पास गरेपछि विवाह गर्ने आशय रमेशले व्यक्त गरेको आधारमा पनि पूर्णाले कुनै पनि प्रकारको योजना बनाउन सकेकी थिइनन् ।
एउटा नमिठो जलनमा त्यो कालो र निष्ठुरी रात बित्यो । पूर्णाले निश्चय गरी कि रमेशलाई भेटेर खुलस्त यो कुरा भन्नैपर्छ । अनि भञ्ज्याङमा भेटेर उनले आफ्ना सबै समस्याहरु बताईन् । आफू मामाको छोरोसँग कुनै हालतमा विवाह नगर्ने बरु अन्तर्जातीय नै भएपनि धेरै पढेको व्यक्ति रमेशसँग विवाह गर्ने इच्छा व्यक्त गरिन् । उसका भनाइप्रति सहानुभूति प्रकट गर्दै घरमा सल्लाह गरेर भोलि अन्तिम निर्णय दिने वचनबद्धता रमेशले दिए । भोलिपल्ट उही स्थानमा ती दुई जनाको भेट भयो । रमेशको अनुहार उडेउडे जस्तो लाग्दथ्यो । निरस र फुङ्ग उडेको मुहारको झझल्को हुनासाथ झस्को पसिसकेको थियो पूर्णाको मनमा । ‘रमेश तिमी किन निरस देखिन्छौ ?’ पूर्णाले आउनेबित्तिकै सोधिन् । ‘माफ गर पूर्णा मैले बाआमालाई मनाउन सकिनँ’ निकै गम्भीर हुँदै रमेशले भन्यो । ‘आखिर ममा के कमजोरी छ रमेश ?’ थर्किंदै सोधिन् पूर्णाले । ‘कमजोरी तिमीमा छैन पूर्णा ! तिमी त लायक छौ र सर्वगुण सम्पन्न छौ । तर मेरो परिवारमा अन्तरजातीय विवाह गर्न नहुने पुरानो रुढिवादी संस्कार अहिले पनि छदैंछ । र केही गरी यो विवाह गरेमा पाँच लाखभन्दा उँभोको दाइजो पाउनुपर्ने माग छ’ रमेशले अड्की अड्की बतायो । ‘तिमी त पढेलेखेको मान्छे सम्झाएनौ आफ्ना आमाबुबालाई ?’ ‘सम्झाउन त भरमग्दूर प्रयास गरें तर उनीहरु भन्छन्, दाइजो लिनु त हाम्रो रिवाज हो ।’
‘तर रिवाजको नाममा हामीले आफ्नो चाहनालाई कहिलेसम्म बलि चढाउने रमेश ?’ गहभरि आँसु पारेर पूर्णाले सोधी । तर उनको उत्तर दिनुको साटो रमेश त्यहाँबाट ओझेल पर्दै थियो । कुन रिवाज सही हो छुट्याउन असमर्थ पूर्णाको गालामा भने आँसुको अविरल भेल उर्लिरहेथ्यो ।
(यो कथा सामाजिक कथा हो )

'हनिदा' कथाको पुरा भाग

by Krishna Gurung on Thursday, December 8, 2011 at 6:21pm ·

थाई एयरवेजको जहाज क्वालालाम्पुर शहरमाथिको आकाशमा फन्को मार्दै सुस्त सुस्त ओर्लन लागेपछिमात्र मलेसिया आइपुगेको आभास भएथ्यो हामीलाई । प्यागोडा शैलीका अग्ला अग्ला घरहरुको बीचबाट गुज्रिरहेथे हाम्रो जहाज । मध्यरातको समयमा पनि सिंगो क्वालालाम्पुर शहर भने भिलीमिली बिजुली बत्तीहरुको रोशनीसँगै जाग्रत बसेर हामीलाई स्वागत गरिरहेथ्यो । हामी पनि आतुर थियौं, क्वालालाम्पुर शहरको यो आह्वानलाई नेपाली तन र नेपाली मनले आलिङ्गन गर्न ।
जहाजले विश्राम लिएपछि हाम्रो नेपाली डफ्फाले विरानो भूमिमा पाइला टेक्यो । मेरो लागि मातृभूमि छाडेको यो पहिलो अवसर थियो । केही व्यक्तिहरुका लागि भने दोस्रो, तेस्रो आगमन थियो सायद । केही खुसी, केही भयमिश्रित भावमा छानवीन विभागबाट गुज्रिसकेपछिमात्र मलाई बोध भएथ्यो, मैले लिएको श्वासमा मलेसियन अक्सिजन छ । पर्देशी नगरीमा टेक्ने मेरो असीम अभिलाषा त्यस क्षण पूरा भएथ्यो । त्यसैले खुसीका रङ्गहरु मेरो मुहारमा छाउँदा क्वालालाम्पुर नगरीका ट्युबलाइटहरु समेत फिक्का लागेथ्यो मलाई ।
हामीलाई पिकअप गर्न पर्खिरहेका ट्याक्सीहरु नेपाली युवाहरुले भरिए । सबैजना जिन्दगीको जिजीविषको मेलोमा बाध्यतावश रिङ्गिट कमाउने धूनमा यहाँ बतासिएका थिए । सुन्दर क्वालालाम्पुर नगरीको बीचबीचै गुज्रिरहेथे हाम्रा ट्याक्सीहरु । मध्यरातको थकानले होला गाउँघरको मधुरो कल्पना गर्दागर्दै सुस्ताउन लागेको बेला नेपाली गीत गुञ्जिएको सुनेर चनाखो भएँ । ताप्लेजुङका साथी सोमेशले नेपाली क्यासेट लगाएको रहेछ । खुसीले उन्मत्त बन्दै सुनें, बीमाकुमारी दुराको कोकिल कण्ठबाट यी गीतहरु क्वालालाम्पुर नगरीको व्यस्त सडकमा नेपाली सुर खोज्दै थिए – किन जानु साइँलो दाइ हङ्कङ र मलाय
                                   सुन फल्छ नि साइँलो दाइ यै माटो चलाए
तर अफसोस ! रिङ्गिटको धूनमा हामीले मातृभूमिलाई विदाइको सलामी दिएर पराधीनतालाई स्वीकार्दै पर्देशी भूमिमा आफूलाई सुम्पन ल्याएका थियौं । मेरो नौनारी गलेर आयो । हेरें, सबै साथीहरुको आँखा टल्पलाईरहेथ्यो । हाम्रा भावुक तन्द्राहरु त्यतिबेला भङ्ग भएथ्यो जतिबेला The New Era Resort को सामुन्ने ट्याक्सीहरु रोकिए घ्याच्च........घ्याच्च........।
...............                                                 ....................                                                    ......................
आ–आफ्ना झोला र सामानहरु बोकेर The New Era Resortमा पहिलो प्रवासी रात बिताउन हाम्रो नेपाली डफ्फा अघि बढिरहेथ्यो । काश.......यो डफ्फा नालापानीको युद्ध लड्ने वदभद्र कुँवरको डफ्फा हुँदो हो त......तत्क्षण मेरो मनसपटलमा इतिहासका वीरवीराङ्गनाहरुको लस्करको तस्वीर साकार भएथ्यो र तुरुन्तै बिलाएथ्यो पनि । Room No.55 र Room No.56 । छट । यिनै दुई कोठामा अटाए हाम्रो नेपाली डफ्फा । होहल्ला र तडकभडकका साथ हिँड्ने हाम्रो लस्करलाई देखेर पल्लो कोठामा बस्ने एउटी युवती अघिदेखि अचम्मित थिई सायद । झट्ट हेर्दा मंगोलियन अनुहार परेकी जापानी, चिनियाँ जस्तै । गुलाबी सर्टमुनि जिन्सको पाइन्ट, साँवलो वर्ण, मध्यम कद, मिलेको अनुहार हेर्दै लोभलाग्दो । ‘वाह ! यहाँ त केटी पनि पाइन्छ कि के हो ?’ ‘चुप लाग घर छोडेर आएपछि यस्ता केटीहरुको चक्करमा पर्नुहुन्न’, ‘हामी त रिङ्गिट कमाउन आएका’, ‘आह ! मोजमज्जा पनि त गर्नुृपर्छ नि पर्देशमा आएपछि’, ‘यहाँ कसले देख्छ र?.........कस्ले वास्ता गर्छ र ?’, ‘कस्ती राम्री गाँठे’, ‘होइन जिस्किन जाने पो हो कि ?’, ‘हुँदैन है हुँदैन यस्तो बेइमानी गर्न । घरमा स्वास्नीको विचल्ली पर्ला । पाप लाग्ला ।’ आदि इत्यादिका गफले हामीले होटलै थर्किने गरी हल्ला गर्न लागेपछि डिस्टर्ब भएछ क्यारे युवती हाम्रो कोठाको ढोकामै आएर भनी – Excuse me please, don't make a noise. You are disturbing me.। हाम्रो नेपाली डफ्फाका प्रायः जवानहरु अण्डर एसएलसी भएकाले तिनको अंग्रेजी भाषा बुझ्न र बोल्न सक्दैनथे । म चाहिँ कम्तीमा वी.ए.सम्मको पढाइको कारण अंग्रेजी बुझ्न र बोल्न पनि सक्थें । नयाँ मुलुकमा अवतरण गरेको पहिलो रात र त्यहाँ भेटिएकी पहिलो युवती । पहिलो र अन्तिम हरेक व्यक्तिको लागि महत्वपूर्ण हुन्छ भन्छन् । उनलाई आकर्षित तुल्याउने अभिप्रायः मेरो थिएन तैपनि हाँस्दै उनीसँग माफी मागेको थिएँ मैले, We are sorry. We won't disturb you again. ढोकामा उभिएरै उनले सोधी – तपाइँहरु यहाँ नयाँ हुनुहुन्छ ? ‘तर हामी पुरानो देशको मानिस’ म गफिएँ । ‘लौ यस्ले त केटी पट्याउला जस्तो छ’ साथीहरु मलाई जिस्क्याउनतिर लागे । ‘ठट्टा नगर्नोस् न कुन देशबाट आएको ?’ युवतीले सोधी । ‘जुन देशमा बच्चा जन्माएको धेरै बर्षपछि विवाह हुन्छ’ मैले हाँसीहाँसी उत्तर दिएँ । मेरो कुरा सुनेर खित्का छोडेर हाँस्न थालिन् – ‘धत् यस्तो पनि हुन्छ ? तपाइँ त फटाहा हुनुहुदो रहेछ ।’ अनि मैले देशको उल्लेख नगरी कतिपय जातिमा प्रेमविवाह गर्ने र पछिमात्र वैधानिकता दिइने प्रचलनको बारेमा बताएँ । दङ्ग पर्दै उनले भनिन् – अचम्मकै रहेछ तपाइँको देश, भन्नोस्न प्लीज । ‘जुन देशका मानिसहरुलाई दुःख नै छैन’ । ‘मतलव ?’ ‘मतलव त्यहाँका युवायुवतीहरुले जागिर नै पाउँदैनन् । कामै नपाएपछि केको दुःख ?’ यो भनाइले उनी झन् पेट मिचीमिची हाँस्न थालिन् । ‘तपाइँ त रमाइलो मान्छे हुनुहुँदो रहेछ । तपाइँको कुरा गर्ने शैली साह्रै मन पर्यो । तर तपाइँ कुन देशको हो अनुमान गर्नै सकिनँ’ अहिले हाँस्न छाडेर सामान्य ढङ्गले बात गर्न थालिन् । रहस्यको कन्तुरलाई अझै बन्द राखेर ठट्टालाई जारी राखें मैले, ‘मेरो देशमा त चोर डाँका नै छैनन्’ ‘ओह राम्रो धेरै राम्रो’ अंग्रेजीमै उनले भनिन् । ‘केको राम्रो हुनु नि ? देशका सुरक्षाकर्मीहरु नै यस्तो काम गर्छन त !’ यस्तो वाक्य सुनेपछि उनी यसपटक भने सिरियस देखिएकी थिई किनकि मैले मेरो देशको नराम्रो पक्षलाई नै उजागर गरिरहेको थिएँ । उनी केही भन्न खोज्दै थिइन् सायद मैले अकस्मात् सोधें – तपाइँ मलेसियन हो ? ‘म कुन देशको हुँ मलाई नै थाहा छैन ’ अनायास उनी हाम्रो कोठामै छिरेर स्टुलमा बस्दै भनिन् । मैले उनको भनाइ नेपालीमा रुपान्तर गरेर साथीहरुलाई बताएँ । मेरा नेपाली साथीहरु गलल्ल हाँसे । ‘तपाइँ कस्तो सिल्ली आफ्नो देशको नाम पनि थाहा नहुने’ व्यङ्ग्य कस्ने पालो मेरो थियो । ‘किनकि मेरो विवाह भएको छैन । म जुन देशको नागरिकसँग विवाह गर्छु त्यसपछिमात्र मेरो देशको टुङ्गो लाग्नेछ ।’ यो उनको पालो थियो । ‘त्यसो भए तपाइँ नेपाल जानुहुन्छ ?’ मैले तुरुन्तै सोधेथें । ‘ओह तपाइँहरु नेपाली पो हुनुहुँदो रहेछ । मैले त तपाइँको देश पत्ता लगाउन पो यो ट्रिक गरेकी ।’ अहिले तिनको मुहारमा प्रफुल्लता देखिन्थ्यो । ‘बुद्धको देश नेपाल, सगरमाथाको देश नेपाल, नेपाल त सुन्दर देश हो । आइ लभ नेपाल’ नेपालप्रति उनले यस्ता भावनाहरु व्यक्त गरी जसबाट लाग्थ्यो उनलाई नेपालको बारेमा धेरै जानकारी छ । त्यतिखेरसम्ममा हामी धेरै फ्यङ्क भइसकेका थियो । कुरैकुराको सिलसिलामा उनले आफ्नो नाम बताई ‘हानिदा’ । किन किन नाम नै प्रिय लाग्न थाल्यो । आफ्नो बारेमा बेलिबिस्तार लगाउन थालिन्, ‘म मकाउबाट यहाँ क्वालालाम्पुरस्थित क्वालालाम्पुर इन्टरनेसनल युनिभर्सिटीमा डिग्रीको पढाइ पूरा गर्न आएकी हुँ । मेरा बुबा मकाउमा इन्जिनियर र ममी स्कूलमा टिचर हुनुहुन्छ । म एन्थ्रोपोलोजीको स्टुडेन्ट हुँ । मैले नेपालको बारेमा, नेपाली जाति र वीरताको बारेमा धेरै पढेकी थिएँ । आज प्रत्यक्षः तपाइँहरुसँग भेट भयो । नेपालमै पुगेजस्तो लागेको छ मलाई ।’ हामीसँगको भेट र वार्तालापले हानिदालाई औधी खुसी तुल्याएथ्यो भनी हाम्रा साथीहरुमाझ चर्चा भयो । हामीले पनि नेपालबाट कामको खोजीमा मलेसिया आएको बतायौं । रात धेरै गुज्रिसकेकाले हानिदालाई नरोकेर हामी निद्रादेवीको शरणमा पल्टेथ्यौं ।
.............................                                             .............................                              .....................
नयाँ सूर्यसँगै क्वालालाम्पुर शहर ब्युँझेको पनि घण्टौं भइसकेछ । अर्धनिद्रित अवस्थामा नै मकाउ सुन्दरी हानिदाको याद आइरहेथ्यो । अनि नउठी धरै भएन किनकि सुषुप्त मनले सुन्दरी हानिदालाई नयाँ बिहानीको सलामी टक्र्याउन आग्रह गरिहेथ्यो । अफसोस ! हानिदा होटलबाटै विदा भइसकिछ । मध्यरातमा मनसपटलमा खिचिएको हानिदाको सुन्दर आकृतिको पत्रमात्र बोकेर हामी रमाना भयौं अल अर्शाद रबर इन्डस्ट्रीमा । त्यसको भोलिपल्टबाटै हामी नेपाली लेवरहरुको काम शुरु भएथ्यो त्यहाँ ।
क्वालालाम्पुर शहरको व्यस्त माहौल अनि रबर फ्याक्ट्रीभित्रको चर्काे कामको बीचमा पनि मैले हानिदालाई भुल्न सकिरहेको थिइन । न त हानिदासँग पुनः भेटिने आशा नै थियो । शहरमा अनेक फेसन र डिजाइनमा पानीको लहरझैं आउने जाने मलेसियन युवायुवतीहरुले पनि उतिसाह्रो प्रभाव पार्न सकेन मलाई जति हानिदाले पारेकी थिई । अरु साथीहरु घरको यादले तड्पिरहन्थे तर मेरो मनमष्तिस्कमा क्वालालाम्पुर शहर र त्यहाँको रमझम यस्तरी बास बस्न आए जसको घुम्टोभित्र मेरो देशका पहाडी श्रृङ्खलाहरु त कता छोपिए कता । हाम्रो नेपाली डफ्फा बेलुका सुत्नेबेला मात्र जम्मा हुन्थ्यो । दिनभरि त कम्पनीमा इन्डियन, फिलिपिनी, बङ्गलादेशी, इन्डोनेसियन अनि चिनियाँ कामदारहरुको हुलभित्रै हराउँथे नेपालीहरु ।
‘तुम्हें बाहर किसी ने बुलाया हैं । वो तुमसे मिलना चाहता हैं । जल्दी जल्दी करना’ एक इण्डियन सुपरभाइजरले बाहिर मलाई कसैले खोजिरहेको कुरा सुनाएपटि एकछिन् काम छोडेर त्यसतर्फ तानिएँ म । मैले सोचें, कुनै नेपाली साथी होला तर अचम्म, गेष्ट रुममा उनै सुन्दरताकी प्रतिमूर्ति हानिदा खडा थिई । उनलाई देख्नासाथ मेरो कण्ठबाट खुसीको झंकार निस्केथ्यो, ‘हानिदा तिमी यहाँ ?’
‘हो समीर म तिमीलाई भेट्न आएकी’ उही पाइन्ट, उही सर्ट लगाएकी थिई हानिदाले जुन मैले दुई महिनाअघि The New Era Resort मा मध्यरातमा देखेको थिएँ । ‘कलेजमा फुर्सद भएकोले तिमीलाई भेट्न र यो ठाउँको सुन्दरतालाई मुटुभरि समेट्न म यहाँ आएकी’ मैले केही भन्न नभ्याउँदै उनले बेलिबिस्तार लगाई ।
‘तर त्यस बिहान तिमी हामीलाई नभेटी गएथ्यौ’ दुखेसो पोखें मैले । ‘माफ गर समीर, तिमीहरु अबेरसम्म सुत्यौ उता मेरो ट्रेन छुट्नेवाला थियो’ पछुतो उनलाई पनि थियो सायद ।
‘कसरी आइपुग्यौ त तिमी यहाँ ?’ कुराकानीको सिलसिला लम्ब्याउन अर्को जिज्ञासा पोखें मैले । ‘त्यस रात तिमीले नै बताएका थियौ नि अल अर्शाद कम्पनीमा काम गर्न आएको कुरा । त्यसैको आधारमा म यहाँ आएँ । मैले तिमीलाई डिस्टर्व गरें हगि ?’ हनिदाका प्रत्येक वाणीहरु मूल्यवान बन्दै थिए । ‘होइन होइन हानिदा मैले पनि तिमीलाई भुल्न सकेको थिइनँ’ धेरै नै कुराहरु व्यक्त गर्न चाहन्थें म तर अत्यधिक खुसीको आवेगमा मैले यति नै भन्न सकें ।
‘लौ त समीर अहिले म जान्छु पनि । फुर्सद छ भने आउँदो विदाको दिन The City Entertainment Plaza मा आउनु । त्यहाँ हामीले चाइनिज कल्चरल सो गर्न गइरहेका छौं । तिम्रो लागि यो टिकट’ एउटा टिकट थमाई हानिदाले र बाहिरिन लागी । हात समाएर एकछिन बस्न अनुरोध गरुँकि जस्तो लागिरहेथ्यो तर आँट आएन । उनी मेरो आँखाबाट ओझेल पर्नै लाग्दा जीवनमै पहिलोपल्ट महसुस भएथ्यो – मेरो मुटु छिनिएर गइरहेछ........।
.......................                                                          .....................                                   ...........................
विदाको दिन । केह िसाथीहरु समुद्री तटको सयर गर्ने योजना तय गर्दै थिए । अरु साथीहरु हिन्दी फिल्म हेर्ने योजना बनाउँदै थिए । मलाई भने हानिदाको निम्तो थियो । कुनै बहाना बनाएर एक्लिएँ म । हानिदालाई भेट्ने हतारोले एक घण्टा अगावै डोर्याएथ्यो मलाई द सिटी इन्टरटेन्मेन्ट प्लाजामा । तर हजारौं नरनारीहरुको हुलमा मैले हानिदाको छायाँसम्म पनि देख्न सकिनँ । त्यसैले मन खल्लो भइरहेथ्यो । कार्यक्रम शुरु भईहाल्यो । भाषा नबुझेपनि विभिन्न पहिरन र पोशाकमा ठाँटिएका कलाकारहरुको प्रस्तुतिले आनन्दित तुल्याइरहयो मन तर बेलाबेलामा हानिदाको यादले झस्काउँथ्यो । चारैतिर मुन्टो घुमाउँथें कतै हानिदालाई देखिन्छ कि ! अफसोस ! हानिदाको पत्तोफाँट थिएन ।
कार्यक्रमको मध्यान्तरतिर उद्घोषकले जब हानिदाको नाम पढेथ्यो खुसील म जुरुक्कै उठेथें । अरु दर्शकहरु आश्चर्यचकित भएर मलाई हेरिरहेथे । स्टेजमा जब नर्तकीको रुपमा हानिदा प्रस्तुत भई ताली बजाएर अभिवादन गरेथें मैले । हानिदाको पहिरन, नृत्य यति राम्रो लाग्यो कि मेरो मनको एक भागमा हानिदालाई आजीवन सजाएर राख्ने मञ्च नै तयार नै भयो । त्यसदिन हानिदालाई भेटिने आश भने थिएन । अरु कुनै दिन ‘क्वालालाम्पुर इन्टरनेसनल युनिभर्सिटीमै गएर बधाई ज्ञापन गरुँला भन्ने सोच्दै कार्यक्रमको समाप्तिपश्चात् तितरवितर हुलभित्रै छिरें म । तर त्यो हुलमा पछाडिबाट कसैले सर्टको बाहुलामा समातेको जस्तो लागी पछाडि फर्किएँ म । अनि व्याकुल मेरा दुई नयनहरु खप्टिएथ्यो हानिदाका दुई आँखामा । भीडबाट अलग्गियौं हामी । ‘कस्तो लाग्यो हाम्रो कार्यक्रम ?’ हानिदाले सोधी । ‘राम्रो, औधी राम्रो’ प्रशंसाको पुल बाधें मैले । ‘तिम्रो देशमा पनि होलान् नि यस्ता कार्यक्रम ?’ हानिदा मेरो देशको रीतिरिवाजबारे जान्न चाहन्थी । ‘हुन्छन् तर मलाई आफ्नो देशको त्यति रुचि छैन । यहाँ आएपछि यतै लोभिएको छु म ।’ घुमाउरो भाषामा हानिदाद्वारा आफू प्रभावित भएको भाव पोखिदिएँ । ‘बिर्सौला नि आफ्नो देश ?’ हाँस्न थालिन् हानिदा । ‘त्यो त बिर्साउनेहरुमा भरपर्छ’ बठ्याइँपूर्वक जवाफ दिएँ मैले पनि । ‘त्यसो भए हिँड समीर मेरो देशको परिकार चाख्न’ कोमल हातहरुले मेरो पाखुरामा समात्दै अनुरोध गरी । ‘यस मेडम म यहाँको सेवामा हाजिर छु’ ठट्यौलो. पारामा भनेथें मैले । बदलामा मप्रति फर्केर एकपटक मुस्कुराएकी थिई हानिदा । अनि त्यसको केही क्षणमै हामी पुगेथ्यौं एउटा चाइनिज रेस्टुराँमा ।
‘हानिदा, तिमीलाई भेटेदेखि यो विरानो मुलुकमा म एक्लो छु भन्ने कुरा बिर्सेका्े छु मैले’ चाइनिज परिकार निल्दै संवाद थालें मैले । ‘समीर तिमी पर्देशी म पनि पर्देशी अझ तिम्रो साथमा साथीहरु छन् म त झन् एक्ली छु । तिमीलाई यो अन्जान सहरमा साथी मानेर घरको न्यास्रोपनलाई मेटिरहेकी छु मैले पनि’ आँखाहरु रसिला पारेर हानिदाले बताई । ‘तर तिमी युनिभर्सिटीको स्टुडेन्ट म एउटा फ्याक्ट्रीको लेवर । हाम्रो मित्रता असहज लाग्दैन तिमीलाई ?’ नचााहँदा नचाहँदै पनि आत्मग्लानि पोखेछु मैले । ‘मित्रताको कुनै शर्त हुँदैन समीर, न यसको कुनै सीमा र शर्त हुन्छ । जहाँ एक व्यक्तिले अर्को व्यक्तिको भावनाको कदर गरिन्छ त्यहीं त हुन्छ मित्रता ।’ हानिदाले मित्रताको परिभाषालाई यसरी व्यक्त गरी जुन मैले यसअघि कसैबाट सुनेको थिइन । अनि मित्रताको उचाइलाई चुल्याउँदै जाने अठोटसाथ बेग्लियौं हामी त्यस दिन ।
...............................                                ..................................                       ..................................
हानिदासँगको मित्रता अब मित्रतामा सीमित नरहेर प्रेमरुपी नयाँ आँकुरा बनेर अंकुराइरहेथ्यो । हामी एकअर्कालाई भौतिक र आत्मिक दुवै रुपले चाहन थालेका थियौं । हाम्रा भेटका नवनव संस्करणहरुले कहिले समुद्री झीलसम्म पुर्याउँथ्यो, कहिले मलेसियाकै अन्य अन्य बन्दरगाहहरुमा । अनि कहिले क्वालालाम्पुरका नामूद रेष्टुराँ, पार्क वा फिल्महलहरुमा । यी कुराहरु मेरो नेपाली डफ्फामा मात्र नभएर क्वालालाम्पुरस्थित अन्य नेपालीहरुमाझ पनि महामारी झैं फैलिरहेथ्यो । साथीहरु दिनहूँ सम्झाउँथे । कोही तिमीले कमाएका रिङ्गिटहरु सबै चुस्छ त्यस्ले भन्थे । कोही हानिदा वेश्या केटी हो भन्थे । कसैले त एड्स सार्ला समेत भन्न बाँकी राख्तैनथे । म सम्झाउने गर्थें, हानिदा त्यस्ती केटी होइन । एकदिन त हाम्रो वादविवादले चर्को रुप लिएथ्यो । ‘हेर समीर एउटा साथी बिग्रन आँटेकोले मात्र सम्झाएका हौं हामीले’ सामुहिक उपदेश थियो यो । रिसले आँखै देखिन र भनें, एउटा साथीले प्रगति गरेको देख्न नसकेर डाहामा जलेको पनि त हुनसक्छ नि ! त्यसैदिनदेखि साथीहरुले सम्झाउन छाडेथ्यो मलाई अनि म पनि हानिदाको बारेमा कहिल्यै उल्लेख गर्दिनथें ।
समयको चक्र छिटो घुमेको हो वा हामी नै सुस्त गतिमा चल्यौं मलेसिया छिरेको पनि दुई बर्ष बितिसकेछ । हामी तीन बर्षको कन्ट्रयाक्टमा मलेसिया आएको । अझै एकबर्ष बाँकी छ तर म त्यसपछि पनि नेपाल फर्कन चाहन्नँथे । हानिदालाई विवाह गरेर यतै घरजम गर्ने सुर थियो मेरो । हानिदाको पढाइ सकिन मात्र एक महिना बाँकी थियो । एकमहिनापछि विवाह गर्ने प्रस्ताव राखें हानिदा समक्ष । हानिदा सहमत भई । हानिदाले विवाहको प्रस्तावलाई स्वीकारेको दिनमात्रै पहिलोपल्ट मेरो आलिङ्गनमा समाहित भइथी हानिदा ।
हानिदासँग विवाह गर्ने योजना एकहप्ता अगाडि मात्रै मैले साथीहरुलाई सुनाएँ । त्यो कुरा सुनाउँदा यति खुसी थिएँ म, मलाई लागेथ्यो धर्तीमा होइन आसमानमा छु म । तर तत्कालै एक साथीले घरबाट आएको चिठी हातमा थमाउँदा ब्रेक लागेझैं भएथ्यो । घरबाट चिठी आएको पटक्कै मन परिरहेको थिएन किनकि यथार्थमा नेपाल सम्झन पनि चाहन्नथें म । तैपनि चिठी खोलेर पढें । पत्र पढेर म साह्रै निराश भएँ किनकि पत्रको व्यहोरा यसप्रकारको थियो – समीर, तिम्री आमा यहाँ सिकिस्त बिरामी हुनुहुन्छ । मर्ने बाँच्ने कुनै ठेगान छैन । विदा मिलाएर तुरुन्तै घर आउनु ।
पत्र पढेर रुन थालें म । साथीहरु सहानुभूति प्रकट गर्दैथे । सबैजना तिमी तुरुन्तै नेपाल फर्कनुपर्छ भन्थे । आफ्नो दुर्भागयलाई धिक्कार्दै अनि रुँदै हानिदासामु उपस्थित भएँ म । मेरो गलामा उर्लेको आँसु पुछ्दै तर आफू रुँदै हानिदाले भनिन् – यस्तो बmेला तिमी नेपाल फर्कनुपर्छ समीर ।
‘अनि हाम्रो प्रेम ?’ अनेक आशंकामिश्रित एउटै प्रश्न गरें मैले । ‘हाम्रो प्रेम पवित्र रहेछ भने कुनै दिन अवश्य प्राप्त हुनेछ ।’ हानिदा मलाई मनाउन खोज्दैथिइन् तर मेरो मन पटक्कै मानेको थिएन ।
अन्ततः हानिदालाई क्वालालाम्पुर सहरमा एक्लै पारेर नेपाल फर्कनुपर्यो मैले । मेरो कम्पनीमा विदाको सहुलियत नभएको हुँदा भिसा नै क्यान्सिल गर्नुपर्यो मैले । यसको मतलव तुरुन्तै मलेसिया फर्कन पाउँदिनथें । अर्को भिसा प्राप्त गरेर मलेसिया छिर्न करिब एक लाखको खर्च गरेर पनि छ महिना, बर्षदिन झैं कुर्नुपथ्र्यो । त्यतिबेलासम्म हानिदा र मेरो हविगत के होला ? यिनै प्रश्नका तीखा काँडाहरुले घोचिंदै, रोपिंदै काठमाण्डौं उत्रँदा सपनाबाट ब्युँझेजस्तो लागेथ्यो मलाई ।
............................                    .......................................                           ......................................
काठमाण्डौं उत्रेपछि झन् निरास बनायो मलाई । देशमा जारी आन्दोलनले गर्दा यातायात लगायतका धेरै कुराहरु अवरुद्ध थियो । यसर्थ काठमाण्डौं आएर पनि एकहप्ता गाउँ जान सकिनँ । होटलका छतबाट हेर्ने गर्थें, काठमाण्डौंको चोकचोकमा निस्किएका जुलुसहरु, कहिले पुलिससँग प्रदर्शनकारीको झडप अनि कहिले गोलीको बर्षा पनि । कफ्र्युको समेत उल्लङ्घन गरेर जनताहरु गणतन्त्र प्राप्तिको लागि सडकमा उत्रेका थिए । रोजै एकदुई जना मारिएको खबरले स्तब्ध बन्थ्यो देश । काठमाण्डौं र क्वालालाम्पुरमा तुलना गर्थें म । मेरो क्वालालाम्पुर यस मानेमा ढुक्कको सहर थियो । त्यहाँ मैले गोलीको बर्षा कहिल्यै देखिनँ । अनाहकमा निर्दोष मानिसलाई सडकमा गोली दागिएको पनि कहिल्यै सुनिनँ । त्यहाँ त हानिदाहरु छन्, संसारलाई मायाको पाठ सिकाउने गुरुहरु ! तर नेपाल भासिँदैछ दुर्भाग्यको सीमाहीन खाल्डोमा । नेपाल अब झन् बस्न लायक छैन । यिनै कल्पनाहरुको अथाह सागरमा डुबुल्की मार्दै काठमाण्डौंमा बितिरहेथ्यो बन्दकालीन मेरा दिनहरु ।र तर सम्झनाको नब्बे प्रतिशत भागमा त हानिदा नै छाउँथी ।
प्रतिनिधिसभाको पुनस्र्थापना गरिए लगत्तै यातायात खुल्यो । अनि बतासिंदै घर आइपुगें म । तर चिठीमा लेखिएको भाव विपरीत, मैले कल्पेको संशय विपरीत न त आमा बिरामी देखिए न त अरु कुनै गडबडी । ‘यो सब के हो ?’ म एकदमसित झोक्किएँ ।
अनि आफसेआफ खुल्यो त्यो प्रायोजित नाटकको वास्तविकता । कारणहरुको केन्द्रविन्दुमा उनै हानिदा थिई । हानिदाले गर्दा म बिग्रन लागेको खबर साथीहरुले यहाँ पठाएका रहेछन् । त्यसैले हानिदा र मलाई बेग्ल्याउने उद्देश्यले मेरै साथीहरुको निर्देशनमा यस्तो खेल खेलिएको रहेछ । सुनेर स्तब्ध भएँ म । क्रोध उम्लिरहेथ्यो । बेस्सरी सबैजनासँग झगडा गरुँ जस्तो लागिरहेथ्यो । तर स्मृतिपटलमा हानिदा उपस्थित भई र भनी – आफूलाई सम्हाल समीर ! मेरी रिमोट कन्ट्रोल हानिदाले क्वालालाम्पुरबाटै बटन दबाई सायद त्यसैले म सम्हालिएँ ।
दुर्भाग्यहरु कहिलेकाँही किन एकैठाउँमा मात्र ओइरिन्छन् ? किन सबैजना खेदो गर्छन् ओरालो लागेको मृगलाई ? मेरो स्वाधीनता, मेरो स्वतन्त्रता किन निरपेक्ष बन्दैन ? उदासीका यी तरङ्गहरुले झापड हानिरहेथ्यो मेरो अर्धबेहोसी चेतनामा त्यसदिन जुनदिन टुरिस्ट भिसामार्फत् तत्काल मलेसिया छिर्न चाहन्थें म र त्यसभन्दा अगाडि हानिदालाई फोन गर्दा क्वालालाम्पुरको प्रत्युत्तर थियो – हनिदा त गइसकी आफ्नै देशमा ।
.............................                           .......................................                 .......................................
हानिदासँग अब कहिल्यै भेट नहुने चिन्ताले दिनप्रतिदिन मेरो भावभङ्गिमा बद्लीरहेथ्यो । गाउँघर शून्य, उजाड मरुभूमितुल्य लाग्थ्यो । विवाहका चर्चाहरु चले । थुप्रै केटीहरुका कुरा गरिए । कसैले पनि हानिदाको स्थान खोस्न सकेन । हानिदा भेटिने आशा पनि थिएन । यिनै द्वन्द्वहरुको आँधीबेहरीमा रुमल्लिइरहेका बेला एकदिन मलाई कोही भेट्न आएको खबर सुनेर मन लागी नलागी घरबाट बाहिर निस्किएथेँ । सामने उही हानिदा खडा थिई । म एकदमसित झस्केँ अनि दुई बर्ष अघि झैँ तुरुन्तै भनेँ - हानिदा तिमी यहाँ ?
'हो समीर, वियोगको पिडामा कतै तिमीले दम त तोडेनौ भनेर हेर्न आएकी' हानिदाले हाँस्दै भनी ।
'हो हानिदा दुई दिनमात्र ढिला गरेकी भए तिमीले मेरो कंकालमात्र फेला पार्थ्यौ' रुन्चे अनुहार लाएर मैले भनेँ । 'तिम्रो कंकाल त झनै महत्वपूर्ण हुन्थ्यो मेरो लागि । आर्कियोलोजिकल्ली विश्लेषण गरेर म त उखानै बनाउथेँ - Over dedicated love is injurious to life. द न्यु इरा रिसोर्टमा दुई बर्ष अघि छाडेको खित्का यहाँ पनि दोहोर्याई ।
'तर तिमी त एन्थ्रोपोलोजिस्ट' आफूप्रतिको व्यङ्ग्य सहन नसकेर बात मोड्न खोजेँ मैले । 'हो म एन्थ्रोपोलोजिस्ट नै हुँ तर एन्थ्रोपोलोजीमा आर्कियोलोजी पनि मिसिन आउँछ । अँ समीर वास्तवमा म यहाँ फुलब्राइट स्कलरसिप अन्तर्गत पिएचडी गर्न आएकी हुँ । मेरो थेसिसको टपिक्स चाहिँ 'A comparative study of Gurungs of Nepal' हो । नेपाल आउनुको अर्को उद्देश्य पनि खोलिन् हानिदाले ।
‘मेरै जातिको बारेमा अध्ययन गर्न लागकोमा तिमीलाई धन्यवाद तर विवाह चाहिँ पिएचडी सकेपछि त गर्ने होला नि, ताकि त्यतिबेलासम्म म पनि मेरो अधुरो पढाइ थालेर डिग्री पूरा गर्न सकूँ’ उनको पिएचडीको ताप सहन नसकेर मैले पनि डिग्रीको धाक लगाएँ । ‘होइन समीर विवाह त हामीले तुरुन्तै गर्नुपर्छ किनभने नेपालमा अब संविधानसभाको चुनाव हुँदैछ । त्यसभन्दा अगाडि नेपालको नागरिक बन्न चाहन्छु म अनि संघीय गणतन्त्रको पक्षमा आफ्नो मत जाहेर गर्नेछु ।’ एकै सासमा बताई हानिदाले । उनको भनाइबाट लाग्थ्यो, उनलाई नेपालको राजनैतिक संरचना कस्तो हुनुपर्छ भन्ने कुरामा समेत पूरा ख्याल छ ।
‘तिमीले संघीय गणतन्त्रको पक्षमा वकालत गर्यौ त ?’ पत्रकारले अन्तरवार्ता लिएझैं सोधें मैले । ‘हो समीर नेपालको द्रुत गतिमा विकास गर्न, यहाँका जात–जातिहरुको समुचित विकास गर्न राज्यको संरचना संघात्मक पद्धति अनुरुप हुनुपर्छ अब । त्यसो भएको खण्डमा तिमी जस्ता युवाहरुले क्वालालाम्पुरको सडकमा कामको खोजीमा भौंतारिइरहनु पर्नेछैन । अँ समीर तिमीलाई ङोलो भनेर बोलाउँछु अब’ लम्बे भाषणपछि हानिदाले मैले नसुनेको शब्द ‘ङोलो’ उच्चारण गरी ।
‘हानिदा यो ङोलो भनेको के हो ?’ तुरुन्तै प्रश्न गरें मैले । ‘साँच्चै थाहा छैन तिमीलाई ?’ अचम्म माने झैं गरेर सोधी । मैले अहँ भनेर टाउको हल्लाएँ ।
‘यही त कमजोरी छ तिमी नेपालीहरुको । आफ्नो भाषा, संस्कृतिको बारेमा अर्काले भनिदिनुपर्ने, खोजिदिनुपर्ने । ङोलो भनेको गुरुङ भाषामा सोल्टी भनेको हो नि’ प्यारी हानिदाको मुखारविन्दबाट मेरै मातृभाषाको टिप्पणी यसप्रकार गुञ्जिएथ्यो । ‘भो भो धेरै व्यङ्ग्य नगर । फाहियानको रेकर्डं तोडेर देखाऊ पहिले’ यति भनेर उनको परिचय घरपरिवारका अरु सबैलाई गराउनुपर्ला भनी उठ्दा उनको मुहारमा अतृप्त मुस्कान देखेथें ।
................................                      ...........................                                     ....................................

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment